
संघीय सरकार गठनसँगै सत्ता साझेदार दलहरु प्रदेश सरकार गठनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । लुम्बिनी प्रदेश सरकार गठनका लागि समेत गृहकार्य सुरु भइसकेको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सत्ता साझेदार दलहरू अझै टुङ्गोमा पुगिसकेका छैनन् । तर नेतृत्वका बारेमा छलफल भन्ने चलाइरहेका छन् ।



सरकार गठनको तयारीसँगै सत्ता साझेदार दलमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका छन् । नेकपा एमालेले मुख्यमन्त्रीको रुपमा रुपन्देही निर्वाचन क्षेत्र नं. २(१) बाट निर्वाचित सांसद लिला गिरीलाई अघि सारेको छ भने नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीका रुपमा रोल्पा निर्वाचन क्षेत्र नं. १(१) बाट निर्वाचित सांसद जोखबहादुर महरालाई अघि सारेको चर्चा छ ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले नै गर्ने दाबी गरेका छन् । आफ्नो पार्टीका सांसद जोखबहादुर महराले नै मुख्यमन्त्रीको जिम्मेवारी पाउने उहाँको भनाइ छ । बरालले रातोपाटीसँग भने, ‘सत्ता साझेदार दलहरुभित्र दाबी रहने नै भयो । नेकपा एमालेले पनि प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहेकै छ । तर वर्तमान सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको र अन्य प्रदेशमा एमालेले नेतृत्व दिने माथिल्लो तहमा कुराकानी भइरहेकाले लुम्बिनी प्रदेशको नेतृत्व माओवादीले लिन्छ ।’
यसका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको उनले बताए । संघीय सरकार गठनमा सहयोगी भूमिका निर्वाह गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, स्वतन्त्र सासंदहरु मिलेर नै प्रदेशमा पनि सरकार गठन हुने उहाँले जानकारी दिनुभयाे ।








