
पाल्पा – सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्न माथागढी गाउँपालिकामा ‘सक्षम’ कार्यक्रम संचालन भएको छ । समग्र पालिकाको शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले माथागढी गाउँपालिका र ब्रिटिस काउन्सिलको आपसी सहकार्यमा ‘सक्षम’ कार्यक्रम (क्यूई क्यूएस) संचालनमा आएको छ ।



यो कार्यक्रम छ महिनाअघिदेखि कार्यक्रम माथागढी गाउँपालिका भित्रका सामुदायिक र संथागत विद्यालयमा संचालन भइरहेको छ । पालिकाले गत २०७९ साउनबाटै पालिका भरिका विद्यालयमा यो कार्यक्रम संचालन गरेको पालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । उहाँले अंग्रेजी विषयमा पालिकाका विद्यार्थीको नतिजा कमजोर भएकाले त्यसलाई सुधार गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रम संचालनपछि अंग्रेजी भाषामा शिक्षकको अवस्था सुधार हुने र त्यसले सिकाई अभिबृद्धिमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले यो कार्यक्रममा पालिकाको तर्फबाट समय र मिहिनेतको लगानी बढी रहेको बताउनुभयो ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले माथागढी शिक्षा क्षेत्रमा पिछडिएको क्षेत्र भएकाले यो कार्यक्रमले पालिकाको शैक्षिक अवस्था सुधार गर्न भूमिका खेल्ने बताउनुभयो । यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले पालिकाले शिक्षा क्षेत्रमा अहिले गरेको लगानीको प्रतिफल केही वर्षपछि देखिने बताउनुभयो । यस्तै सामाजिक विकास समितिका संयोजक एवं माथागढी वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीले माथागढीले शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले यो कार्यक्रमले पालिकाको शैक्षिक अवस्थालाई सुधार गर्न भूमिका खेल्ने विस्वास गर्नुभयो ।
कार्यक्रमका बारेमा जानकारी दिनुहुँदै बिट्रिस काउन्सिलका भाषा कोर्डिनेटर भोगेन्द्र लामिछानेले माथागढीका अंग्रेजी पढाउने शिक्षकको ज्ञान र सीप बढाउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । पढाउने शिक्षक अंग्रेजी भाषामा अब्बल भएपछि पठनपाठन समेत सुधार हुने उहाँको भनाई छ । यस्तै बिट्रिस काउन्सिलका सुदर्शन सुवेदीले कार्यक्रम तीन वर्षसम्म संचालन हुने र यो कार्यक्रमले शिक्षकको अंग्रेजी भाषामा दक्ष बनाई सीप क्षमतामा समेत सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बिट्रिस काउन्सिलका माथागढी शिक्षा संयोजक अशेष भट्टराईले माथागढीमा शिक्षाको अवस्थाको बारेमा जानकारी दिनुभयो ।माथागढी गाउँपालिकाको ५७ प्रतिशत र ब्रिटिस काउन्सिलको ४३ प्रतिशत लगानीमा कार्यक्रमको सुरुवात भएको ब्रिटिस काउन्सिल अंग्रेजी कार्यक्रम प्रमुख भोगेन्द्र लामिछानेले बताउनुभयो । यो कार्यक्रम लागु भएका अन्य स्थानीय तहमा निजी विद्यालयका विद्यार्थीहरू सामुदायिक विद्यालयमा आकर्षित हुने, अंग्रेजी भाषामा उत्तीर्ण विद्यार्थीको संख्या बढ्ने दावी गरिएको छ ।








