
काठमाडौँ– बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पेप्सीकोलास्थित आफनै निवासमा राप्रपाका केही सांसदहरुसँग छलफलमा थिए । त्यति नै बेला उनको मोबाइल फोनको घण्टी बज्यो ।



फोनका बोलेका व्यक्तिले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवा तपाईसँग विशेष कुराकानी गर्न चाहनुहुन्छ । अहिले कुरा गर्न सकिन्छ ?’
लिङ्देनले कुरा गर्न सकिने बताए । देउवा सचिवालयबाट बोलेका व्यक्तिले फोन हस्तान्तरण गरे । फोनमा देउवाको आवाज सुनियो । देउवाले सोधे– सन्चै हुनुहुन्छ ?
सामान्य अभिवादनको शिष्टाचार र सन्चो विसन्चोको खबर आदान प्रदान भएपछि दुई नेताबीच राजनीतिक कुरा भए । राजेन्द्र लिङ्देनको सचिवालयका एक सदस्यले बताएअनुसार, सोही संवादमा देउवाले लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेका हुन ।
देउवाले फराकिलो अफर लिङ्देनलाई सुनाए । प्रधानमन्त्री र राष्ट्रपतिमध्ये एउटा पद छानेर लिन देउवाले लिङ्देनलाई अफर गरेको सचिवालयका ती सदस्यले बताए ।
देउवाले लिखित सहमति नै गरेर शक्ति बाँडफाँट गर्न र नेतृत्वदायी पद राप्रपाले लिन प्रस्ताव गरेको ती सदस्यले बताए ।
‘मौखिक होइन, लिखित सहमति गरौं । समय भए धुम्बाराही आउनुहोस् । बसेर छलफल गरौं’, देउवाको भनाई उधृत गर्दै लिङ्देनको सचिवालय स्राेतले भन्याे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिन लागेको बेला कांग्रेसका केही नेताहरु भने सरकारलाई विश्वासको मत पुर्याउन नदिने तयारीमा लागेका छन् । देउवाले लिङ्देनलाई प्रधानमन्त्रीको अफर गर्नुको कारण त्यही हो ।
देउवाको प्रस्ताव सुनेर अलमलिएका लिङ्देनले अहिले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने कुरा सम्भव नभएको जवाफ फर्काएको लिङ्देन सचिवालयको दावी छ ।
‘रवी लामिछाने उपप्रधानमन्त्री बन्न हुने, तपाईं प्रधानमन्त्री बन्न किन नहुने ? आउनुहोस् हामी सहयोग गर्छौं’, देउवाले लिङ्देनलाई गरेको प्रस्ताव सुनाउँदै ती सदस्यले बताए ।
देउवासँगको कुराकानी सकेपछि लिङ्देनले ठट्यौली गरेका थिए, ‘सानो पार्टी हुँदा पो फाइदा हुँदो रहेछ । सबै पदमा अफर आउन थाल्याे ।’
राप्रपाका महामन्त्री धवलशम्शेर राणाले पनि कांग्रेसबाट प्रधानमन्त्रीकाे अफर आएको स्वीकारेका छन् । तर, कांग्रेसको प्रस्ताव आउँदैमा सत्तारूढ गठबन्धन छाडेर जाने अवस्था नरहेको राणाले बताए ।








