
पाल्पा – तानसेन नगरपालिकाको बाह्रौँ नगरसभा तथा अधिवेशन सकिएको छ । नगरसभामा नगर उपप्रमुख प्रतीक्षा सिंजालीले
चालु आव २०७९/०८० काे संशाेधिन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियाे । उक्त संशाेधित बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ ।




सिंजालीले चालु आवमा प्रक्षेपण गरेको भन्दा राजश्व संकलनको अवस्था कमजोर रहेकाले बजेटको आकार घटाउनुपरेको बताउनुभयो । उहाँले गत ११ नगरसभामा चालु आवका लागि १ अर्ब ३९ करोडको बजेत तथा कार्यक्रम पारित भएकोमा १२ नगरसभाबाट त्यसलाई संशोधन गरी १ अर्ब २७ करोडको बनाइएको बताउनुभयो ।

नगर उपप्रमुख एवं न्यायिक समितिका अध्यक्ष रहनुभएका सिंजालीले समितिबाट हालसम्म सम्पादन भएका कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो । सभामा वडा नं. ७ का अध्यक्ष प्रदीप खनालले खानेपानी तथा सरसफाईसँग सम्बन्धित बनेको ऐन प्रस्तुत गर्नुभएको थियो । उक्त ऐनसमेत सर्वसम्मत पारित भएकाे छ ।

यस्तै लेखा समितिका संयोजक एवं तानसेन–९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले नगरपालिकाको लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले नगरपालिकामा बढ्दै गएको बेरुजु घटाउनुपर्नेमा जोड दिनुभयो । अर्यालले नगरपालिकाको हाल १ करोड बढी रकम अशुल उपर गर्नुपर्ने बेरुजु रहेकाले नगर सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

नगरसभामा प्रस्तुत ऐन तथा प्रतिवेदन सर्वसम्मतले पारित भएका छन् भने केही प्रस्ताव बहुमतले पारित भएका छन् । नगरसभाकाे शुन्य समयमा समेत नगरसभाका सदस्यहरूले बाेल्नुभएकाे थियाे । नगरसभा नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।











