
पाल्पा ,तानसेन नगरपालिकावडा न.४ मखनटोल टोल विकास संस्थाले एकदिने ‘मखनटोल सडक खाना महोत्सव–२०७९’ गर्ने भएको छ । टोल विकास संस्थाले यही माघ २० गते मखनटोलमा खाना महोत्सव गर्न लागेको हो ।
तानसेन नगरपालिका वार्ड नं ४ को आर्थिक सहयोग र मखनटोल टोल विकास संस्थाको समन्वयमा पाँचौ सडक खाना महोत्सव गर्न लागेको सस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
विगत १० वर्ष देखि मनाउदै आएको उक्त महोत्सवले भने पछिल्ला २,३ वर्ष यता कोभिडं १९ को कारणले गर्दा निरन्तरता पाउन नसकेको र अहिले समय परिस्थिति अनुकुल रहेकाले महोत्सव पुन संचालनमा गर्न लागिएको सडक महोत्सव संयोजक प्रबिता शाक्यले बताउनु भयो ।



कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले स्थानिय फरक–फरक स्वाद दिने परिकारलाई महोत्सवमा प्राथमिकता दिन सकेमा महोत्सवले सार्थकता प्राप्त गर्न सक्ने बताउनु भयो । उँहाले महोत्सवबाट हुने आम्दानीबाट टोलको सरसफाईमा ध्यान दिन टोल विकास संस्थालाई आग्रह गर्नुभयो ।
वडा न.४ का अध्यक्ष हेमन्तराज शाक्यले तानसेनको पर्यटन प्रवद्र्धनका लागि वडाबाट समेत बजेट विनियोजन गरिएको बताउदै वडाको दुई टोलविकास संस्थाले आयोजना गर्ने सडक खाना महोत्सवका लागि पर्यटन प्रवद्र्धन कार्यक्रम मार्फत एक एक लाख विनियोजन गरेको जानकारी दिनुभयो । यस वर्ष विशाल बजार टोल विकास संस्थाले महोत्सव नगर्ने भएपछि मखन टोल विकास संस्थालाई दुई लाख दिइने समेत वडा अध्यक्ष शाक्यले बताउनु भयो ।
७० वटा स्टल रहने महोत्सवमा विशेष गरेर स्थानिय परम्परागत खाना तथा सँस्कृतिलाइ पहिचान दिलाउने,स्थानीय तहमा उत्पादित कृषि जन्यवस्तु, विभिन्न जातजातिका खानाका परिकार,सुन्तलाका अर्गानीक जुससहित महिला उद्यमीहरुबाट उत्पादित कृषि जन्यवस्तुहरुको प्रदर्शनी तथा विक्रीलाई प्रोत्साहन गर्ने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गरिएको संस्थाकी अध्यक्ष प्रर्मिला कार्कीले जानकारी दिनुभयो ।
पाँच हजार पर्यटक उपस्थिति गराउने र २० लाख देखि २५ लाख को कारोबार हुने अपेक्षा गरिएको खाना महोत्सव विहान १२ः३० बजेदेखि साँझ १० बजेसम्म रहने आयोजकले जनाएको छ ।पत्रकार सम्मेलन कार्यक्रम संस्थाकी अध्यक्ष प्रमिला कार्कीको अध्यक्षता, सचिव ज्ञानु कार्कीको सञ्चालनमा भएको थियो ।









