
पाल्पा – रानीमहलमा प्रेमजोडीलाई भव्य स्वागत गरिएको छ । प्रणय दिवसका दिन ऐतिहासिक स्थल ‘रानीमहल’मा पुगेका जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्विनी तथा नाटा च्याप्टरको संयुक्त आयोजनामा भव्य स्वागतसहित सम्मान गरिएको हो । रानीमहलको महत्व स्थापित (ब्राण्डिङ्) गर्न रानीमहल पुगेका युगल जोडीहरूलाई सम्मान गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।



मङ्गलबार नेपाल सहित भारतबाट रानीमहल पुगेका जोडीको प्रेमजीवन सफलताको कामना गर्दै स्वागत तथा सम्मान गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । रानीमहललाई ‘प्रेम प्रतीक’ का रुपमा समेत लिने गरिन्छ । पछिल्लो समय प्रणय दिवसका अवसरमा रानीमहलमा प्रेम जोडीहरू जाने गरेका छन् ।
रानीमहल पुगेका प्रेम जोडीले महादेव मन्दिरमा प्रेम सफलताको कामना गर्दै सिक्का दान गरेका थिए भने । एक आपसमा गुलावका फुल साँटासाट गरेका थिए । उनीहरुले धार्मिक रुपमा पृथक मानिएको कालीगण्डकी उत्तर बाहिनीको अवलोकन गरेका नाटा च्याप्टर पाल्पाका अध्यक्ष राजीव शाहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवं लुम्विनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रेम बाँड्दा आपसी सम्बन्ध सुमधुर बन्ने बताउनुभयो । उहाँले मानिसले प्रेम बाँड्न नसक्दा समाज तनावयुक्त बनेको भन्दै तनावबाट मुक्त हुन सबैले प्रेम साट्नुपर्नेमा जोड दिनुभयो । एक आपसको गाँढा प्रेमले मात्रै विश्वमा शान्ति कायम गर्न सहयोग पुग्ने धारणा प्रदेशसभा सदस्य रानाले राख्नुभयो । उहाँले प्रेम मानव जीवनकै लागि महत्व रहेकाे बताउनुभयाे ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यस्तो कार्यक्रम गरिएको बताउनुभयो । रानीमहल नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापना गर्न नगरपालिकाले पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
नाटा गण्डकी प्रदेशका अध्यक्ष एवं पोखराका बासिन्दा हरि अधिकारीले ऐतिहासिक महत्वको स्थलमा प्रेम साटासाट गर्न पाउदा आफूलाई खुसी लागेको बताउनुभयो । ‘ऐतिहासिक रानीमहलमा प्रेम साट्न पाउँदा खुसी लागेको छ उहाँले भन्नुभयो ।
रानीमहलमा पुगेका प्रेमजोडीलाई नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले शव्दसहित स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन तानसेन नगरपालिका अन्तर्गत (ट्याक्ट)का संयोजक एवं वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले गर्नुभएको थियो ।









