
पाल्पा – पाल्पाका ३३ जना पत्रकारको निशुल्क आँखा परीक्षण गरिएको छ। नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा विहीबार पाल्पाका पत्रकारहरुको लागि निशुल्क आंखा जांच गरिएको हो।



नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच गरिएको थियो। आँखा अस्पताल तानसेनमा भएको शिविरमा ३३ जना पत्रकारको आँखा जाँच गरिएको महासंघले जनाएको छ । अधिकांश पत्रकारहरुको आँखा कमजोर देखिएको अस्पतालले जनाएको छ ।

आँखा परीक्षण कार्यक्रममा नेपाल नेत्र ज्योति संघ पाल्पा शाखाका अध्यक्ष बुद्धि प्रसाद शर्माले पत्रकार महासंघसँगको सहकार्यमा आँखा शिविर चलाउन पाउँदा खुसी लागेको बताउनुभयो ।

संघका सचिव भीमसेन कार्कीले देशैभर पत्रकारहरूका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने समझदारी अनुसार पाल्पामा पनि शिविर गरिएको बताउदै पत्रकारले आँखा अस्पतालको सेवा सुविधाको बारेमा जनतासँग सुसुचित गराउन महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पत्रकारहरु दैनिक रुपमा कप्यूटर,ल्यापटप जस्ता उपकरणसँग खेल्नुपर्ने भएकाले महासंघको केन्द्रीय कार्यक्रम अनुसार नि।शुल्क शिविर संचालन गर्न सहयोग गरेकोमा अस्पताल परिवारलाई धन्यवाद दिनुभयो ।

शिविरमा नेत्र सहायक सन्तोष दर्जी, रामनारायण सिंह, प्राविधिक शम्भु आचार्यले सेवा दिनुभएको थियो ।









