
पाल्पा – पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा नेपाली सेनाकाे टाेलीकाे पदयात्रा सुरु भएकाे छ । राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढीबाट पद यात्रा सुरु भएकाे हाे । यात्रा माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने योजना बनाएको पाल्पास्थित नेपाली सेनाकाे दि महिन्द्र फेमस दल गणले जनाएकाे छ ।



यही चैत २८ गतेबाट गोरखाबाट ‘ऐतिहासिक गोरखा–जीतगढी’ पदयात्राका लागि हिँडेको टोली वैशाख २ गते पाल्पा आइपुगेकाे हाे । पाल्पाको गढी तथा किल्लासम्मको यात्रा पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ले गर्ने गणपति बाल मुकुन्द विष्टले जानकारी दिनुभयो । पाल्पामा पहिलो पटक रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम रहेको गणपति विष्टले जानकारी दिनुभयाे ।
पदयात्राले सैनिक र नागरिकबीचको सम्बन्ध सुमधुर हुने, नेपालीको गौरवपूर्ण इतिहासप्रति अभिरुचि बढ्ने, भावी पुस्तालाई इतिहासबारे जानकारी हुने गणपति विष्टले बताउनुभयो । पदयात्रामा सहभागी टोलीले १६१ किलोमिटर दुरी पार गर्ने तथा टोलीमा १५० देखि २०० जनाको सहभागिता रहने गणपति विष्टले जानकारी दिनुभयो ।
यस्तै, ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र राष्ट्रिय एकताको संवैधानिक दायित्व पूरा हुने उहाँकाे भनाइ छ ।
सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहने दि महिन्द्र फेमस दल गणका मेजर किन प्रधानले जानकारी दिनुभयो । यसबाट ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्न र स्थानीय बासिन्दाको गढी र किल्लाप्रति अपनत्व बढ्ने उहाँले बताउनुभयो ।

पाल्पाको केलादी हुँदै बाकुमगढी झडेवा माथागढी हुँदै तानसेन र तानसेन हुँदै तिनाउको नुवाकाेट तथा जीतगढी किल्लासम्म पदयात्रा गर्ने सेनाको योजना छ । उक्त टोलीले वैशाख ७ गते बुटवलमा पदयात्राको झण्डा हस्तान्तरण गर्ने गणले जनाएको छ ।








