
काठमाडौं, २ बैशाख । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् ।



नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आईएको छ । तर यस पटकबाट भने सुजनले जिब्रो छेडेर परम्पराको शुरुवात गरे । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।
जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुन्छ । दैविक शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।
किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा शुरु भएको हो ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ ।








