
अर्घाखाँची । शिक्षक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा अर्घाखाँची जिल्लाको संशोधन नभएपछि शिक्षक सेवाको परीक्षा दिने उम्मेद्वारहरु निराश भएका छन् ।



रिक्त तथा अस्थायी दरबन्दी हुदाहुदैपनि विज्ञापन नखुलेको तथा संशोधन पनि नभएको भन्दै प्राथमिक तहको शिक्षकको परीक्षा दिन तयार रहेका उम्मेद्वारहरु चिन्तित बनेका हुन् ।
शिक्षक सेवा आयोगले प्राथमिक तहको २०७९ साल चैत ९ गतेका दिन प्रकाशित गरेको सुचनामा रिक्त विवरण कम पठाउदा एक जना खुल्ला सहित ३४ जनाको विज्ञापन खुलेको थियो ।
जिल्लामा रिक्त रहेको प्राथमिक तहका शिक्षकको संख्या बढी भएपछि शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीमा जिल्लाका ६ वटा स्थानीय तहका शिक्षा अधिकृत, प्रा.स. र जिल्लास्थित शिक्षकका पेशागत संघ÷संगठनका प्रमुख तथा पदाधीकारीको बैठकले हाल रहेको अस्थायी दरबन्दीका शिक्षकहरुको संकलित विवरणबाट १ सय १७ पद थप गर्ने निर्णय भएको थियो ।
खुलेको विज्ञापनमा थप १ सय १७ थप्नका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षकव्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरलाई चैत १० गतेका दिन पत्र पठाएपनि जिल्लाको संशोधन नभएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले बताउनुभयो ।
पहिला पालिकाबाट अस्थायी तथा रिक्त रहेका दरबन्दी संख्या नपठाएका कारण ३४ जनाको मात्र विज्ञापन खुलेको तर पछि संशोधन गर्न जिल्ला स्थित सरोकारवालाको बैठकबाट पत्र पठाएपनि चैत ३० गते शिक्षक सेवा आयोगले ३६ जिल्लाको संशोधन गरेपनि अर्घाखाँचीको संशोधन गरेको छैन् ।

विज्ञापनमा जिल्लाको संख्या छुटेकोले थप्नका लागि पत्र मात्र हैन् आयोगका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद दाहाललाई टेलिफोन सम्पर्क गरेर समेत जानकारी गराएको शिक्षा इकाईका प्रमुख पराजुलीको भनाई छ । शिक्षक दरबन्दीको संख्या छुट भएकाले थप्नु पर्ने विषयमा शिक्षा सचिव रामकृष्ण सुवेदी र सहसचिव कमल पोख्रेललाई समेत जानकारी गराएको इकाइका प्रमुख पराजुलीको भनाई छ ।
दरबन्दी संख्या संशोधन हुन नसक्दा शिक्षक सेवा आयोगको परीक्षा दिन बसेका तथा शिक्षक सेवा आयोगको तयारी गरिरहेकाहरु मर्कामा परेका छन् ।








