
पाल्पा – पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा भोलिदेखि तानसेनको टुंडिखेलमा पाल्पा महोत्सव हुने भएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजक संस्था पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ ।



पाल्पा महोत्सव भव्य रुपमा गर्न आवश्यक सबै तयारी पूरा भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । महोत्सवको उद्घाटनमा तानसेनसहित पाल्पाका विभिन्न संघसंस्थाको र्याली, टोल विकास संस्था, व्यापारी, उद्योगी तथा अन्य सर्वसाधारणको सहभागिता रहनेछ ।
महोत्सवमा घरेलु तथा साना उद्योगका स्टल, कृषिजन्य बस्तुको स्टल, ढाका तथा अन्य लत्ताकपडाका स्टल, बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीबाट उत्पादित सामग्रीका स्टलहरु रहनेछन् । महोत्सवका राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातीप्राप्त कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम रहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो । महोत्सवमा झण्डै तीन सय स्टल, दश लाख भन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको छ ।
महोत्सवले पाल्पाको पर्यटन प्रबद्र्धन तथा कोरोनाबाट खुस्चिएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विस्वास गरिएको संयोजक घिमिरेले बताउनुभयो ।
यसैबीच पाल्पा महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्नुहुने कार्यक्रम रहेको छ । भोलि अर्थात बैशाख १४ गतेदेखि हुने महोत्सवको उद्घाटन महासंघकै केन्द्रीय अध्यक्ष ढकालले गर्ने कार्यक्रम रहेको संघका उपाध्यक्ष भीमबहादुर श्रेष्ठले बताउनुभयो ।








