
पाल्पा ।



पाल्पाको तानसेनमा चलेको ११ दिने पाल्पा महोत्सव आइतबार सकिएको छ ।
“हामी सबैको उत्सव, पाल्पा महोत्सव” को नारा सहित संचालित पाल्पा महोत्सव ३ लाख दर्शकले अवलोकन गरेको र ८ करोड रुपैंया बराबरको कारोबार भएको पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ ।
पाल्पाको स्थानीय उत्पादन, सामाग्री कृषि, पर्यटन, कुटिर उद्योग तथा सांस्कृतिक पहिचानलाई प्रचारप्रसार गर्ने र बजारीकीकरण गर्न, सुस्ताएको बजारलाई चलायमान गराउन आयोजित महोत्सवले जिल्ला भित्रका उत्पादन, बजार, उद्योगी व्यवसायीलाई थप हौसला र पर्यटन प्रवर्द्धनलाई टेवा दिएको महोत्सव समापन समारोहमा बक्ताहरुले बताएका छन् ।
महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्थानीय बस्तु र सेवाको व्यबसायकरण गर्नमा महोत्सव सफल भएको बताउनुभयो । आयात प्रतिस्थापन रोक्नमा स्थानीय तहले लगानीको बाताबरण सिर्जना गर्नुपर्छ ढकालले भन्नुभयो-निजि क्षेत्र र सरकार एकअर्कोमा दोष लगाउने मात्र होइन अब समन्वय गरेर अघि बढेर मात्र आर्थिक गतिबिधी उकासिनेछ । व्यबसायिक रुपमा ८० प्रतिशत बढी रोजगारीको ग्यारेन्टी संघले गरेको उल्लेख गर्दै ५ लाख श्रम शक्ति बिच अझ बेरोजगारको समस्या उत्तिकै रहेको ढकालले औंल्याउनुभयो ।उहाँले पाल्पा ढाकाटोपी, करुवा जस्तै केबलकार सहितको व्यबसायिक कृयाकलाप बढाउन अग्रसर भएको बताउनुभयो

पाल्पा उद्योग वाणिज्य संघको आयोजना उद्योग वाणिज्य महासंघको समन्वय, जिल्लाका स्थानीय तह तथा जिल्ला स्थित विभिन्न कार्यालयको आयोजना समन्वयमा गत बैशाख १४ गतेदेखि सुरु भएको महोत्सवमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठ, राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्ष मधुदयाल सैजु, साँस्कृतिक कार्यक्रमका निर्याणक मण्डल सदस्य शकुन्तला बज्राचार्य लगायतले महोत्सवले आर्थिक चलायमानमा मद्धत पुर्याएको बताउनुभयो ।
संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रम संघका उद्योग उपाध्यक्ष उत्तम कुमार बज्राचार्यको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा भएको थियो ।
टुंडिखेल मैदान जोगाएर यो वर्ष पाल्पा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । कोरोनापछि महोत्सव हुन सकेको थिएन ।











