![]()
पाल्पा। पाल्पाको रानीमहल क्षेत्रलाई ‘बिच भलिबल’को हब घोषणा गरिएको छ । खेल र पर्यटनलाई जोड्न नेपालमै पहिलो पटक ‘बिच भलिबलको हब’ घोषणा गरेको हो । यहाँ हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सकिने प्रशस्त सम्भावना पनि छ ।



गत वर्ष पाल्पामा आयोजित राष्ट्रिय महिला ‘बिच भलिबल’ प्रतयोगिता र यस वर्ष भएको पुरुषतर्फको राष्ट्रिय ‘बिच भलिबल’ले पनि रानीमहल क्षेत्रको विकासका लागि आगामी दिनमा भौतिक पूर्वाधार तयार गरेर प्रतियोगिता आयोजना गर्न सकिने पुष्टि गरेको भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले बताए । ‘धेरै राम्रो क्षेत्र हो,’ उनले भने, ‘यसलाई हब घोषणा गर्दा हामीलाई पनि उत्साहित बनाएको छ ।’
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहललाई ‘बिच भलिबल’को हब बनाउन प्रतिवद्धता व्यक्त गरेका हुनन् । ‘रानीमहल क्षेत्र ‘बिच भलिबल’को केन्द्र’ घोषणा गर्दै दुवै पालिका प्रमुखले आगामी दिनमा हुने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार विकास गर्दै खेल निरन्तरताका लागि समेत प्रतिवद्धता जनाए ।
दुवै स्थानीय तहले गरेको प्रतिवद्धतामा सञ्जय स्मृति प्रतिष्ठान, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघ साक्षी बसेका छन् । रानीमहललाई ‘बिच भलिबल’को हब बनाउनका लागि तानसेन नगरपालिकासँग मिलेर काम गर्न बगनासकाली पनि तयार अध्यक्ष दर्लामीले बताइन् । ‘हामी र नगरपालिका मिलेर काम गर्न तयार नै छौं,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार लगायतका क्षेत्रमा काम दुवै पालिका मिलेररानीमहल नगरपालिकाको र आँगन बगनासकालीको पर्छ । यसका लागि दुवै पक्ष बसेर लगानी र आम्दानीको विषयमा सम्झौता गर्नु पर्ने उनले बताइन् । कालीगण्डकी नदीको किनारमा रहेको रानीमहल पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ । नदीको किनारमा रहेको रानीमहललाई पृष्ठभूमिमा राखेर ‘बिच भलिबल’ खेल्न सकिन्छ । रानीमहलमा अहिले पनि पाल्पा र बाहिर जिल्लाका दैनिक ५ सय बढी पर्यटक पुग्ने गरेको तानसेन नगरप्रमुख श्रेष्ठले बताए । ‘खेल र पर्यटनलाई जोडेर रानीमहल क्षेत्रमा विभिन्न खेलुकदका प्रतियोगिता गर्न सकिन्छ,’ उनले भने ।
खेलकुद र पर्यटनलाई जोडेर विकास गर्न सञ्जय स्मृति प्रतिष्ठानले पहिलो पटक राष्ट्रिय महिला ‘बिच भलिबल’ प्रतियोगिता गरेको थियो । यस वर्ष राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पुरुषतर्फको राष्ट्रिय प्रतियोगिता जिल्ला भलिबल संघको सहआयोजनामा भएको हो । समुन्द्र वा नदीको किनारमा खेलिने ‘बिच भलिबल’का लागि रानीमहल क्षेत्र सही र उचित स्थानमा रहेको भलिबलका जिल्ला अध्यक्ष राजु गुरुङले बताए ।
ऐतिहासिक र सांस्कृतिक सम्पदाको धरोहर रानीमहल भएकाले पर्यटन प्रवर्द्धन गर्न थप मद्दत गर्ने उनले बताए । खेलाडी र प्रशिक्षकहरुले ‘बिच भलिबल’को हब घोषणाले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्व पाउने अपेक्षा गरेका छन् । स्थायी कोर्ट बनाएर हरेक वर्ष रानीमहलमा ‘बिच भलिबल’ प्रतियोगिता गर्न सकिने सम्भावना प्रशस्त रहेको छ । ‘सुरुवात हामीले गरेका हौं,’ सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा नेपाल भलिबल संघकी पूर्वकेन्द्रीय उपाध्यक्ष निरोज मास्केले भनिन्, ‘अब यहीँका स्थानीय तह र संघसंस्थाले अपनत्व लिनुपर्छ ।’
संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले कोर्ट निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता आएको छ । सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार आगामी दिनमा एकीकृत विकासका लागि सबै निकायसँग हातेमालो गर्न जरुरी देखिएको उनले बताइन् । जिल्ला खेलकुद विकास समितिले पनि यसमा चासो दिएको छ । ‘यसका लागि खेलकुद विकास समितिले सक्ने सहयोग गर्नेछ,’ समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले भने, ‘सबै क्षेत्रबाट सहयोग हुने हो भने हरेक वर्ष प्रतियोगिता आयोजना गर्न नसक्ने कुरा हुन्न ।’ दुवै स्थानीय सरकार प्रमुखले प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लगानी गर्ने प्रतिवद्धता आउनु राम्रो सन्देश भएको उनले बताए ।
साभार माधव अर्याल/कान्तिपुर








