
पाल्पा – तिनाउ नदीमा डुबेर रुपन्देहीका एक जना पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२, खुर्सानेस्थित तिनाउ नदीमा डुबेर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–११ बस्ने ३४ वर्षका लोकप्रसाद रजालीमगरको मृत्यु भएको हो ।



पछिल्लो समय पाल्पामा डुबेर मृत्यु हुने मानिसको संख्या बढेको छ ।
रुपन्देहीबाट पिकनिक खान आउनुभएका रजाली पिकनिक खाएको स्थानदेखि १०० मीटर नजिकै पानीभित्र डुबेको अवस्थामा फेला पर्नुभएको थियो ।
रजालीलाई उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए । पछिल्लो केही दिनयता पाल्पाको तिनाउ नदी र कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अनिधकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।








