
पाल्पा: गुल्मेली संगम पाल्पाको दोस्रो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। गुल्मेली संगम पाल्पाले शनिबार तानसेनको श्रीनगरमा आफ्नो दोस्रो साधारण सभा एवं वनभोज कार्यक्रम गरेको हो ।



गुल्मी जिल्लामा जन्मघर भई विभिन्न काम र व्यवसायको सिलसिलामा पाल्पामा बस्दै आएका गुल्मेली दाजुभाई तथा चेलीबेटीहरु संगको मैत्रीपुर्ण सम्बन्ध कायम राख्न र एक अर्कामा सद्भावपुर्ण भावना श्रृजना गर्ने उद्देश्यले २०७२ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय पाल्पामा विधान दर्ता गरि सुचारु गरिएको यस संगमले बेला-बेलामा भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने गरेको छ। गुल्मीबाट जागिरको सिलसिलामा पाल्पामा आउने र पाल्पाबाट सरुवा भई अन्य जिल्ला जाने गुल्मेली व्यक्तित्वलाई स्वागत एवं बिदाई गर्ने जस्ता कार्य गर्दै आइरहेको छ।
यसै अवसरमा संगमले तानसेन न.पा.-१, भुसलडाँडा निवासी रिता सोमैको माघ १२ गते असामयिक निधन भएको र वहाँको घरायसी आर्थिक अवस्था निकै कमजोर भएकोले वहाँको पार्थिव शरूरको अन्त्यष्टीका लागि नगद दशहजार पैंसठ्ठी रुपैयाँ प्रदान गरेको छ।
गुल्मेली संगमका संस्थापक अध्यक्ष भेषराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगमका सचिव गंगा बहादुर खत्रीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष गुणाराम खनालले आर्थिक प्रतिवेदन र अध्यक्ष पुन्य प्रसाद सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो। पेश भएका प्रतिवेदन सर्वसम्मत पारित भएको छ।









