
तानसेन । पाल्पाको तानसेन नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाले कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ,नगर उप प्रमुख प्रतिक्षा सिङ्जाली,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संयुक्त रूपमा कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गर्नुु भएको हो ।नगरपालिकाले तानसेनका वडा कार्यालयबाट सिफारिस भएर आए बमोजिमका कृषकहरू ४७ जनालाई हाते ट्याक्टर,४ सय ८५ जनालाई मौरी घार र मौरीजन्य सामाग्री तथा ५८ जना कृषकहरूलाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले बताए ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न नगरपालिकाले कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताए । तानसेन नगरपालिकाको सम्भावना कृषि र पर्यटनबाट नै सम्भव रहेको नगर प्रमुख श्रेष्ठले बताए । उनले भने तानसेन नगरपालिकाको अधिकाश भु-भाग ग्रामीण परिवेश रहेको छ । ग्रामीण परिवेशका अधिकांश नागरिकहरू कृषि र पशुपालन पेशामा आवद्व रहेका छन । त्यसैले नगर सरकारले कृषकहरूको मागलाई मध्ये नजर गरि वडा कार्यालयको सिफारिस बमोजिम अनुदानमा कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताए । कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले नगर क्षेत्रमा लक्ष्य अनुसारको उब्जनी हुन सकेको छैन् । परम्परागत शैलीमा गरिने खेतीपातीले उत्पादकत्व ह्रास हुदैै गईरहेको छ । खनजोत देखि मलजल सम्मका विविध पक्षमा आबश्यक ज्ञान तथा साधन नहुँदा पनि कृषि क्षेत्रमा निकै समस्या देखिएको छ । नगर सरकारले यस तर्फ ध्यान दिदै कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताए । नगरपालिकाले आगामी बर्ष थप बजेट सहित कृषि र पशुपालनलाई मध्ये नजर गरि बजेट बिनियोजन गर्ने बताए । यो बर्ष सबै कृषकहरूलाई समेट्न नसके पनि आगामी बर्षका बजेटहरूमा थप छुटेका कृषकहरूलाई समेट्ने गरि नगर सरकारले कृषि र पशुपालनका क्षेत्रमा अनुदानका कार्यक्रम ल्याउने बताए । नगर सरकारले नगर भित्रका मौरी पालन सम्भावना हुने क्षेत्रलाई मौरी पालन पकेट क्षेत्रको रूपमा विकास गर्न खोजेको बताए । सोही अनुरूप नगर सरकारले यो करिब ४ सय ८५ जना कृषकहरूलाई मौरी घार र मौरीजन्य सामाग्री प्रदान गरेको बताए । आगामी बर्ष थप मौरीपालनको सम्भाव्यता अध्ययन गरि पकेट क्षेत्रको रूपमा अगाडि बढाउने बताए ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने,खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकाले किसानलाई हाते ट्याक्टर दिइएको बताइन । आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले नगरपालिकाले कृषि र बन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको र सोही अनुरूप नगर सरकारले आफ्ना गतिविधि अगाडि बढाएको बताइन । उप प्रमुख सिङ्जालिले भनिन ‘सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रीकरणको प्रयोग बढ्ने अपेक्षा रहेको र उक्त उत्पादनको बजारीकरणका लागि पनि नजर सरकारले सहजीकरण गर्ने बताइन ।’कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले लक्ष्य अनुसारको उब्जनी हुन सकेको छैन् । पुरानै शैली कृषि गर्दा रैथाने बालीहरु विस्तापित हुदै जान थाल्यो। सयौँ रोपनी जग्गाहरु बाझो हुन थाले । यस तर्फ नगर सरकारले गम्भीरतापूर्वक ध्यान दिएर यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताइन । वितरित कृषि यन्त्रले बाझो रहेका जमिन सदुपयोग हुने र कृषि उपजमा वृद्धि हुने अपेक्षा नगर सरकारले गरेको बताइन ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले कृषि यन्त्र खरिद बापत हाते ट्याक्टर,चाप कटर र डिजिटल तराजु कुल ४० लाख बजेटबाट र मौरीजन्य सामाग्री कुल २० लाख बजेटबाट वितरण गरेको बताए । नगरपालिकाले उपलब्ध बजेट र किसानको मागका आधारमा नगर भित्रका विभिन्न व्यक्ति, समुह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको बताए । नगरपालिकाले खनजोतमा सहजता होस्,खनजोतकै अभावले बाझा रहेका जग्गाहरु प्रयोगमा आउन् भन्ने उद्देश्यले हाते ट्याक्टर दिइएको बताए । इन्धन मार्फत संचालन हुने आधुनिक मिनिटिलर खेतमा खनजोत गर्छ,भने सबै जग्गा सदुपयोग भए उत्पादन बृद्धि हुने अनुमान गरिएको बताए । घर भन्दा टाढा रहेका जग्गामा गोरुद्धारा हलो लिई खनजोत गर्न नसकि बाँझो रहेका जग्गा अब प्रयोगमा आउने कृषक चन्द्र बहादुर सोमैले बताए । उनले कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री फागुन भित्र नै वितरण गर्नुपर्ने तर वितरण ढिलो भएकोमा गुनासो गरे ।
कार्यक्रममा तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू,नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू,कृषकहरू लगाएतको उपस्थिति रहेको थियो ।