
पाल्पा । सहिद दिवसका अवसरमा तानसेन नगरपालिका परिसरको ज्येष्ठ नागरिक पार्क सरसफाई गरिएको छ । तानसेन नगरपालिकाको आयोजनामा सहिद दिवसका अवसरमा तानसेन टुँडिखेल खेलमैदान परिसरको ज्येष्ठ नागरिक पार्क सरसफाई गरिएको हो ।
सहिदहरुको तस्विरमा पुष्पार्पण पश्चात कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंक खनालले सहिदहरुको बलीदानी पश्चात आएको गणतन्त्रमा नागरिकहरुलाई स्वतन्त्रता प्राप्ती भएको बताउनुभयो । उहाँले देशको राजनैतिक व्यवस्था फेर्न सहिदहरुले आहुति दिएको भन्दै देशको अवस्था फेर्न राजनैतिक दलहरु लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री बीर बहादुर रानाले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा सरसफाई कार्यक्रम गरीनु सुखद रहेको बताउनुभयो ।
विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको बताउनुभयो ।
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवशको रुपमा मनाइएको बताउनुभयो ।