तानसेन। चन्द्रकोट गाउँपालिका गुल्मीले आफ्नो अर्धबार्षिक प्रगति समिक्षा सम्पन्न गरेको छ । गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा जनप्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, लगायत सरोकारवालाहरुका बिचमा अर्धबार्षिक समिक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अन्तरगत रहेका विषयगत शाखा प्रमुखहरुले आफ्ना शाखाबाट भएका सेवाहरुको प्रगति विवरण पेश गर्नुभएको थियो भने अन्य उपस्थितहरुबाट आवश्यक सुझाव सल्लाह तथा पृष्ठपोषण प्रदान गरिएको थियो ।
आर्थिक बर्ष शुरु भएको ६ महिनामा गाउँपालिकाको आर्थिक, सामाजिक, लगायत कार्यपालिका र न्यायपालिका बाट सम्पादन भएका गतिविधिहरुको समिक्षा गरिएको उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनु भयो ।
गाउँपालिकाले दिने सार्वजनिक सेवा चुस्त, दुरुस्त र सहज हुनुपर्ने सेवाग्रहीहरुले बताएका छन । गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले चालु आवको ६ महिनामा उल्लेखीय कार्य भएको दावी गर्नुभयो । उहाँले विषयगत शाखा कार्यलयहरुले नागरिकलाई छिटो ,छरितो र गुनासो रहित सेवा दिन निर्देशन दिनुभएको थियो ।
समिक्षा कार्यक्रमको अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न शाखामा कार्यरत कर्मचारीहरु लगायतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।









