तानसेन ।उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारको अहिलेको मुख्य प्राथमिकता जनताको सेवा र विकासमा केन्द्रित रहेको बताउनु भएको छ । पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकार विकास निर्माणका परियोजनाहरूलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
सिंहका अनुसार, मुलुकको समृद्धि सुनिश्चित गर्न सरकारले पूर्वाधार विकास, शहरीकरण व्यवस्थापन र स्थानीय विकासका योजनाहरूलाई विशेष प्राथमिकता दिइरहेको छ। उहाँले विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनु भयो ।



पत्रकारहरूसँगको कुराकानीका क्रममा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार आएपछि सेवा प्रवाहलाई प्रभावकारी बनाउन कानुनी संरचना र नीति सुधार गरेर अगाडी बढेको उल्लेख गर्नुभयो । हाम्रो ध्यान अब सेवा प्रवाहलाई चुस्त बनाउँदै विकास निर्माणका कार्यलाई तीव्रता दिनु हो, मन्त्री सिंहको भनाई थियो ।
पूर्वविशिष्ट व्यक्तिहरूलाई सुरक्षा, सरकारी आवास, गाडी र अन्य सुविधा दिने विषयमा पत्रकारहरुको प्रश्नमा यस विषयमा कुनै निर्णय नभएको बताउनुभयो ।








