अर्घाखाँची, जेठ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु आउने पालिका बनेको छ । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२ औँ प्रतिवेदन अनुसार पाणिनी गाउँपालिकाको लेखा परिक्षण गर्दा ०.११ प्रतिशत अर्थात १५ लाख ३५ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ ।
पाणिनि गाउँपालिकाले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको लेखा परिक्षण गर्दा ०.६१ प्रतिशत बेरुजु रहेको थियो । ६२ औँ प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको १ अर्ब ४४ करोड ५० लाख ४८ हजार रुपैयाँको यो तथ्यांकका आधारमा पाणिनी गाउँपालिका लुम्बिनीमै कम बेरुजु आउने पालिका मध्ये प्रथम बनेको हो । यसका आधारमा देशभरको अवस्थालाई हेर्दा पाणिनी गाउँपालिका सबै स्थानीय तह मध्ये कम बेरुजु आउने छैटौं नम्बरमा परेको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।
महालेखाले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार सो तथ्यांक सार्वजनिक भएको हो ।



महालेखा परिक्षणको ६२औं प्रतिवेदन अनुसार अर्घाखाँचीमा सबैभन्दा कम बेरुजु हुने पालिकामा कुन कति नम्बरमा:
प्रथम: पाणिनी गाउँपालिका कुल बजेटमा ०.११% बेरुजु
द्वितीय: भूमिकास्थान नगरपालिका कुल बजेटमा ०.१९% बेरुजु
तृतीय: छत्रदेव गाउँपालिका कुल बजेटमा ०.३७% बेरुजु
चौथो: शीतगङ्गा नगरपालिका कुल बजेटमा ०.५३% बेरुजु
पाचौं: मालारानी गाउँपालिका कुल बजेटमा ०.७१% बेरुजु
छैठौं: सन्धिखर्क नगरपालिका कुल बजेटमा ०.९१% बेरुजु








