पाल्पा। यातायात व्यवसायीले भोली सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
संघीय ऐनसँग बाझिने गरी प्रदेशहरूले ऐन ल्याउन लागेको र विशेषगरी गण्डकी प्रदेशले राजपत्रमा प्रकाशन गरी निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको (कालो प्लेट) सरह सञ्चालन गर्न लागेको, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेका लगायतका माग गरेर आन्दोलन गर्न लागिएको जानकारी सिटौलाले दिए ।



‘सरकारले हाम्रा मागहरू नसुनेकै कारणले हामीले देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हौं, तर पनि हामी वार्ताका लागि तयार छौं, वार्ताको ढोका खुला छ,’ उनले भने ।









