लैङ्गिक समानता, अपांगता, सामाजिक समावेशीकरण अन्तर्गत दलित किशोर–किशोरीहरूका लागि सिप विकास तालिमको रूपमा बेकरी तालिम सञ्चालन गरिएको हो। तालिममा तानसेन नगरपालिकाभित्रका दलित समुदायका किशोर–किशोरीहरूको सक्रिय सहभागिता रहेको छ।
तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिजालीले दलित समुदायका युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन्। सानो लगानीमा बेकरी व्यवसाय सुरु गर्न सकिने भएकाले यो तालिम आर्थिक सशक्तिकरणको अभियानको एक भाग भएको उनको भनाइ थियो। तालिमपछि बेकरी उद्योगमा रोजगारीको अवसर समेत प्राप्त हुने विश्वास उनले व्यक्त गरिन्।



तानसेन नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख भरत आचार्यले सीप सिकेर आत्मनिर्भर बन्न यो तालिम सहयोगी हुने बताए।
कार्यक्रममा तानसेन नगरकार्यपालिका सदस्य दिनेश गन्धर्व, लक्ष्मी विक, मन्जु विक, अनुराम दाम, र पत्रकार कृष्ण दर्नाल लगायतले सीप अभावका कारण पेशा व्यवसायबाट बञ्चित समुदायका युवाहरूलाई यस्ता तालिमले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राखे।
कार्यक्रम इजी लाइफ मल्टिपप्रोज कम्पनी प्रालि, तानसेनका प्रमुख कमल भट्टराईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको स्वागत मन्तव्य सामाजिक विकास शाखा प्रमुख भरत आचार्यले राखेका थिए भने सञ्चालन कम्पनीका कार्यक्रम संयोजक वल बहादुर उच्चैले गरेका थिए।








