बासुदेव ढकाल-पाल्पाको रामपुर नगरपालिका वडानम्वर ५ को वडा कार्यालयले वाद्यवादन सामग्री वितरण गरेको छ। कार्यालयले संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न वडाभित्रका भजनकृतन समूह र मठमन्दिरहरुलाई हार्मोनियम, मादल र मजुरा लगाएतका वाद्यवादन वितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समिति तथा भजन कृतन समूहलाई वाद्यवादन हस्तान्तरण गरेको हो । वाद्ययवादन सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वडा कार्यालयले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्दै आध्यात्मिक क्रियाकलापहरूले संस्कृतिको संरक्षण गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा र चेतना फैलाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आध्यात्मिक सोचले सधैं मानिसलाई सही मार्गमा हिड्न प्रेरित गर्ने भन्दै विकास निर्माणमा पनि महत्वपूर्ण टेवा मिल्ने बताउनुभयो ।




वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले संस्कार र संस्कृतिको जगेर्नाका लागि वाद्यवादन सामग्री प्रदान गरिएको जानकारी गराउदै यस वर्ष ८ वटा समूह तथा मठमन्दिरलाई सामग्री प्रदान गरिएको र बाँकी रहेका मठमन्दिर र समूहहरूलाई पनि आगामी वर्षको सुरुवातमा सामग्री प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजित दुई लाख रुपैयाँ बजेटबाट शिव शक्ति दुर्गा मन्दिर बेझाँड, राधा–दामोदर मन्दिर मटेरी, कोइलीटारी मन्दिर, जेष्ठ नागरिक वाटिका दध्रान, दुर्गा मन्दिर (नहर अफिस), सुन्दरटोल भजन समूह, शिव मन्दिर भम्बक र राम मन्दिरलाई १/१ सेट हार्मोनियम, मादल र मजुरा वितरण गरिएको छ । वाद्यवादन सामाग्री बुझैसंगै सहभागीले नाचगान गरी रमाइलो मनाएको कार्यक्रम वडा सदस्य युवराज शाहीको स्वागत मन्तव्यबाट सुरु र सञ्चालन कार्यालय सहायक बासुदेव ढकालले गरेका हुन ।









