काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्।
पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको थियो।



महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि अध्ययन गरिरहेको छ।
त्यसअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका थिए। प्रारम्भिक रूपमा उनको स्पष्टीकरण चित्तबुझ्दो नआएकाले निलम्बन गरी थप जाँचबुझ अघि बढाइएको गुरागाईँले बताएका थिए।
चैत २१ गते उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पाण्डेलाई थमाइएको थियो।









