पाल्पा . बगनासकाली–७ वडा कार्यालय खानीगाउले एक कार्यक्रमको आयोजना गरी वडाको शैक्षिक गुणस्तरमा थप सुधारका लागि प्रेरणा प्रदान गर्न उत्कृष्ट शिक्षक, विद्यार्र्थी र अभिभावकलाई सम्मान गरेको छ ।
कार्यक्रम ७ नं वडाका वडाध्यक्ष गणबहादुर बुढाथोकीको अध्यक्षता र बगनासकाली गाउपालिकाका अध्यक्ष सरस्वती चिदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुई वर्ष अगाडि वडाको आयोजनामा वडाका सबै शिक्षकका लागि शिक्षकले तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने शैक्षिक योजना तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी ३ दिने तालिम सञ्चालन गरेको थियो । उक्त तालिमको प्रभाव कक्षा कोठामा कस्तो परेको छ त्यसको मूल्याङ्कन गरी उत्कृष्ट कार्य सम्पादन गर्ने प्रभानाध्यापक, शिक्षक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र असल अभिभावकको भूमिका निर्वाह गर्ने उत्कृट अभिभावकहरुलाई सम्मान सम्मानित हुने शिक्षकहरुमा खानीगाउ“ माविका शिक्षक लोकनाथ अधिकारी, पार्वती पाण्डे र रुपा मिधुन, प्रअको रुपमा सम्मानित खानीगाउ आवि कल्लाबारीका प्रअ नलबहादुर साठीघरे, शिक्षक दामोदर बस्याल र धनिसरा गैरे, त्यस्तै दैलातुङ आविबाट सम्मानित शिक्षकहरुमा प्रअ बबिता पौडेल र चन्द्रमणि बेल्बासे रहनुभएको छ ।
कार्यक्रममा उत्कृष्ट बिद्यार्थी र अभिभावकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा गाउपालिका अध्यक्ष चिदीले अहिले पालिकाको शैक्षिक गुणस्तर खस्केर सबैलाई चिन्तित बनाएको अवस्थामा शिक्षाको गुणस्तर सुधारका लागि वडाको असल अभ्यासको प्रशंसा गर्दै सम्मानितहरुलाई बधाई दिनुभयो ।
गाउपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले खानीगाउमाविको विकासको क्रममा भोगेका संघर्षमय इतिहासको चर्चा गर्दै अहिले शैक्षिक गुणस्तर सुधारमा सकारात्मक संकेत देखिएको बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्य केशवराज खराल,मुल्यांकनकर्ता वडा शिक्षा समितिका सदस्य धातानन्द शर्मा गैरे, सम्मानितहरुको तर्फबाट नलबहादुर साठीघरे, बबिता पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अध्यक्ष गणबहादुर बुढाथोकीले वडाले गरेको प्रयत्न पछि वडाको शिक्षामा केही प्रगति देखिएको र यसमा अझ उल्लेख्य प्रगतिका लागि खट्न शिक्षक, विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रम वडा सदस्य जमुना क्षेत्रीको स्वागत तथा शिक्षक लोकनाथ अधिकारीको सञ्चालनमा चलेको थियो ।









