अर्घाखाँची, २८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै अर्घाखाँची जिल्लामा हस्ताक्षर अभियान सञ्चालन भएको छ ।
नेकपा एमालेका निलम्बित सचिव रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० बैशाख ३१ गतेका दिन प्रकाउ परेपछि जेलमै छन् । हस्ताक्षर अभियानको अगुवाई भने एमालेले नगरी स्थानीय युवाहरुले सन्धिखर्ककाे बसपार्कबाट सुरू गरेका छन् । उनीहरुले एकै मुद्दामा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाडसहितका धेरै व्यक्तिहरु धरौटीमा छाडिएपनि लामो समय रायमाझीलाई प्रतिशोधकै कारण राखिएको दावी उनीहरुको छ ।



शुक्रबार अर्घाखाँचीको सदरमुकाम बसपार्क र शुक्रबारे हाटबजारबाट हस्ताक्षर अभियान थालिएको र यसको नेतृत्व कुनै पार्टीले नगरेको दिपेन्द्र पौडेलले जानकारी दिए ।
हाटबजारमा पुगेका दिपेन्द्र भन्छन् ‘मैले त्यो अभियान देखेको हुँ, त्यहाँ कुनै दलविशेषका व्यक्तिहरुले अगुवाई गरेका छैनन् तर स्थानीयहरु आफै पुगेर हस्ताक्षर गरेको अवस्था छ’ उनले भने ।
यो मुद्दामा मुद्दा दर्ता भएलगत्तै एमालेले उनलाई सचिवबाट निलम्बन गरेको छ भने प्रतिनिधि सभाबाट पनि निलम्बनमा छन् । सांसद बिहिन अर्घाखाँची जिल्ला भएको छ । नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले अदालतमा विचाराधीन विषयलाई पार्टीले हस्ताक्षर अभियान चलाउने विषय नभएको र नगरेको बताए ।
‘हस्ताक्षर गरेर अदालतले छाड्ने विषय होइन त्यसमा हामी क्लियर छौं, न्यायिक प्रकरणमा त्यसको टुंगो अदालतले नै लगाउने हो’ उनले भने । जिल्लाबाट भेट्न जानेहरुलाई रायमाझीले आफ्नो रिहाईको लागि एमालेले पहल नगरेको र माओवादीले जसरी पनि भित्रै राख्ने अभियानमा रहेको गुनासो गरिरहेका विषय बाहिर आएको थियो । अहिले उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।










