तानसेन, पाल्पा —तानसेन खानेपानी उपभोक्ता समितिले आफूहरू उपभोक्ता हितलाई सबैभन्दा माथि राखेर काम गरेको बताएको छ। समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठका अनुसार हामी उपभोक्तालाई नियमित र गुणस्तरीय खानेपानी सेवा प्रदान गर्न प्रतिबद्ध छौं, कुनै पनि असुविधा वा समस्या देखिएमा त्यसलाई छिटो समाधान गर्ने प्रयास गर्छौं।
समितिको काम कर्तव्य र अधिकारका विषयमा केही सञ्चार माध्यममा समाचार प्रकाशन भएको विषयमा जवाफ दिदै समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले उपभोक्तालाई सहज र नियमित रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ कार्यसम्पादन गर्नुपरेकोले कतिपय अवस्थामा समस्या देखापर्न सक्ने बताएका छन् । समितिले पानीको वितरण सहज बनाउन सफल भएसँगै अन्य महत्वपूर्ण कामहरू पनि गर्दै आएको अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताएका छन् ।
मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले छिटो निर्णय र तत्काल कार्यान्वयन आवश्यक पर्ने अवस्थामा प्रक्रि,यागत कमजोरी हुनसक्ने तर त्यसलाई ‘गलत नियत’को रूपमा व्याख्या गर्न नहुने बताएका हुन ।
अध्यक्ष श्रेष्ठले भने, “खरायोको गतिमा दौडिन खोज्दा केही केही कमजोरी भएकोमा हामी ती कमजोरीहरू चाँडो सुधार गर्ने छौं ” पारदर्शिता कायम राखेर उपभोक्ताको हितमा काम गर्ने हाम्रो लक्ष्य हो।सकेसम्म राम्रो काम गर्न प्रतिबद्ध छौं। समितिबाट कुनै पनि काम गलत नियतले गरिएको छैन। अहिलेसम्म भएका सबै काम उपभोक्ता हित र राम्रो सोचका साथ अघि बढाइएको हो।
सञ्चारमाध्यममा समितिले विधान र सार्वजनिक खरिद ऐनको प्रावधानलाई बेवास्ता गर्दै खर्च गरेको भन्ने समाचार आएको थियो। समाचार सार्वजनिक भएलगत्तै समितिले स्पष्टीकरण दिने निर्णय गरेको र त्यसैको परिणामस्वरूप पत्रकार भेटघाट आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले बताए।
पत्रकारहरुले समितिको गणपूरक सदस्य संख्या नै नपुग्ने गरी साधारण सभा गरेको, खरिद प्रक्रिया पालना नगरेको कार्यालय व्यवस्थापनमा भएको खर्च, कर्मचारी नियुक्ति, डिपिआर निर्माण, पोषाक खरीद,र कल्याणकारी कोषको रकम वितरणजस्ता लगायतका विषयमा प्रश्नहरू उठाएका थिए। उनीहरूले अनावश्यक क्षेत्रमा खर्च गर्नुको सट्टा गरिब उपभोक्तालाई पानी महसुलमा सहुलियत दिन आग्रह गरेका छन् ।
पत्रकारहरूले, संस्थाले आफ्नो विधानअनुसार र कानुन अनुसार नै काम गर्नुपर्ने नियम उल्लंघन गरेर गरिने कामले उपभोक्ताको विश्वासमा चोट पुग्ने र संस्थाको दिगोपनमा असर पर्ने हुदाँ विचार गरेर अगाडी बढन समितिलाई सुझाव दिएका छन् ।
उपभोक्ता समितिले विगतका कमीकमजोरी र गल्तीहरूबाट सिकेर सुधार गर्दै अघि बढ्ने निर्णय गरेको छ। साना–ठूला कमजोरीहरू पहिचान गरेर सुधार गर्दै अगाडि बढ्न सकिन्छ त्यसैले हामी सबैसँग आग्रह गर्छौं कि कुनै पनि समस्या वा गल्तीलाई हामीलाई बताउन नहिचकिचाउनुहोस् यसले सेवा गुणस्तर सुधार्न ठूलो सहयोग पुग्नेछ, हामीले गरेका त्रुटिहरूलाई स्वीकारेर सुधार गरेर मात्र सेवा राम्रो बनाउन सकिन्छ अध्यक्ष मोहनप्रसाद श्रेष्ठको भनाई छ ।












