पाल्पा— रैनादेवी छहरा गाउँपालिकाले जनतालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट ३०० भन्दा बढी नागरिकले सेवा लिएका छन्।
वडा नं. ८ बाट शुभारम्भ गरिएको शिविर उद्घाटन गर्दै पालिका अध्यक्ष रुक्मागंत भट्टराईले “सिंहदरबारको अधिकार गाउँगाउँमा” भन्ने नारालाई व्यवहारमा उतार्न र जनताको सेवामा सहजता ल्याउन यो पहल गरिएको बताए। उनका अनुसार सामान्य सेवाका लागि पालिका कार्यालय धाउनुपर्ने बाध्यता हटाउन घुम्ती शिविरको आयोजना गरिएको हो।



गाउँपालिकाका सूचना अधिकृत नारायण मल्लका अनुसार शिविरमा अपाङ्गता परिचयपत्र नवीकरण तथा वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय दर्तारनवीकरण, दीर्घ रोगी अभिलेखीकरण, कृषक समूह दर्तारनवीकरण तथा कृषि–पशुपन्छी फर्म दर्ता र नवीकरण गरी ६ प्रकारका सेवा प्रदान गरिएको थियो।
शिविर अवधिमा २०१ जनाको अपाङ्गता परिचयपत्र नवीकरण, ४६ वटा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, १८ वटा कृषि तथा पशुपन्छी फर्म नवीकरण, २५ जना दीर्घ रोगीको विवरण दर्ता, ३ वटा नयाँ व्यवसाय दर्ता तथा ३५ वटा व्यवसाय नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जीवन राना, मेडिकल अधिकृत डा। शिशिर कुमार पटेल, प्रशासन शाखा प्रमुख सहायक प्रशासकीय अधिकृत प्रकाश केसी, कृषि शाखा प्रमुख सिर्जना थापा, पशु विकास शाखा प्रमुख धिरोज मगर, सहायक महिला विकास निरीक्षक छबिता देवकोटा लगायतका कर्मचारी टोलीसहित सहभागी भई वडास्तरमै पुगेर सेवा प्रदान गरेका थिए।
स्थानीयवासीले यस प्रकारको शिविरले समय र खर्च दुवै बचत भएको भन्दै सन्तोष व्यक्त गरेका छन्।
गाउँपालिकाले आगामी दिनमा अन्य वडामा पनि यस्तै शिविर सञ्चालन गर्दै ग्रामीण बस्तीमा प्रत्यक्ष सेवा पुर्याउने योजना बनाएको जनाएको छ।









